काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने प्रयास भएको भन्दै त्यसले पार्टीलाई राम्रो नगर्ने जनाएको छ।
मंगलबार महाराजगञ्जस्थित स्मार्ट होटलमा जारी समूहको भेलामा नेताहरूले पार्टी संस्थापन पक्षले एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन्।
भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले सिटौलाको नाम नलिइकन पार्टीभित्रको आन्तरिक विवादमा अल्झिनुभन्दा राष्ट्रिय राजनीति र लोकतन्त्रको जगेर्नामा केन्द्रित हुनुपर्ने बताएका छन्।
उनले राष्ट्रिय सभामा रहेका कांग्रेसका सबैभन्दा सिनियर र अनुभवी नेता दलको नेता रहेको उल्लेख गर्दै उनलाई हटाउने विषय आवश्यक नभएको धारणा राखे। उनले भने, राष्ट्रिय सभाको दलको नेतालाई प्रधानमन्त्री बनाउने त होइन होला, त्योभन्दा ठूलो उपलब्धि केही हुने पनि होइन। उहाँ त्यहाँ हुँदा पार्टीलाई कुनै काम गर्न अप्ठ्यारो परेको छैन।
विश्वकर्माले अहिले पार्टी निर्माण, लोकतन्त्रको संरक्षण तथा सहज बहुमतको सरकारमाथि प्रमुख प्रतिपक्षी दलको रूपमा खबरदारी गर्नुपर्ने समय भएको बताए। आन्तरिक विषयमा रुमल्लिए त्यसले पार्टी र लोकतन्त्र दुवैलाई असर पर्ने उनको भनाइ थियो।
भेलामा सहभागी नेताहरूले सहमति र सहकार्यका आधारमा अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्। साथै पार्टी निर्माणमा ध्यान दिनुपर्ने बेला आन्तरिक विवादमा नअल्झिन पनि आग्रह गरेका छन्।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया