काठमाडौं। यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ।
विभागले वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो।
विभागका अनुसार यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार गरिएको हो।
भाडा वृद्धिको मुख्य कारण डिजेलको बजार मूल्यमा भएको वृद्धि रहेको जनाइएको छ।
विभागको स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा भाडा समायोजन गर्ने व्यवस्था छ।
पछिल्लो पटक भाडा समायोजन हुँदा डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ३०.४१ प्रतिशतले बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेकाले नयाँ भाडादर कायम गर्नुपरेको विभागले जनाएको छ।
नयाँ दरअनुसार यात्रुवाहक सवारी साधनको भाडा ५.३ प्रतिशतले बढाइएको छ।
त्यसैगरी पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.७ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ९.१ प्रतिशतले वृद्धि गरिएको छ।
यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश हुँदै सञ्चालन हुने राष्ट्रियस्तरका रुटहरूमा मात्र लागू हुने विभागले स्पष्ट पारेको छ।
तर वातावरणमैत्री विद्युतीय सवारी साधनको हकमा भने पुरानै भाडादर कायम रहने र कुनै वृद्धि नगरिएको सूचनामा उल्लेख छ।
विभागले नयाँ भाडादरको विस्तृत सूची सार्वजनिक गर्दै कार्यान्वयन गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार












प्रतिक्रिया