काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई औपचारिक कागजातहरूमा एकरूपता कायम गर्न निर्देशन दिएको छ। पार्टीले सांसदहरूलाई लेटरहेड, परिचयपत्र लगायतका सामग्री प्रयोग गर्दा एउटै ढाँचा अपनाउन र कुनै पनि कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न स्पष्ट रूपमा आग्रह गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा उक्त निर्णय गरिएको र प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका हुन्।
पार्टीले सांसदहरूलाई अझै धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गर्दै उनीहरूलाई मेन्टर तथा सल्लाहकारसँग सहकार्य गर्न र आवश्यक सुझाव लिन प्रोत्साहित गरेको छ।
त्यसैगरी, आगामी निर्वाचनलाई लक्षित गर्दै वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ कार्यक्रम सञ्चालन गरिने जनाउँदै, कसैले पनि टिकटका विषयमा अग्रिम प्रतिबद्धता नदिन निर्देशन दिइएको छ। निर्देशन उल्लङ्घन भएको पाइएमा कडा कारबाही गरिने चेतावनी पनि पार्टीले दिएको छ।
यसअघि सांसद विश्वराज पोखरेलले आफूलाई ‘माननीय’ भनेर सम्बोधन नगरेको भन्दै एक विद्यालयका प्रधानाध्यापकसँग असन्तुष्टि व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि रास्वपाले यस्तो निर्देशन जारी गरेको हो।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया