काठमाडौं। हर्मुज स्ट्रेटमा बढ्दो सैन्य तनाव, इरानको अवरोध र अमेरिकी निगरानीका बीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट मानिने अर्बपति एलेक्सी मोर्दाशोभको विलासी ‘सुपरयाट’ सफलतापूर्वक पार भएको दाबी गरिएको छ।
इरानले जलमार्गमा आफ्नो नियन्त्रण रहेको दाबी गरिरहेको र अमेरिकी सेनाले निगरानी बढाइरहेको अवस्थामा करिब ५०० मिलियन डलर मूल्यको ‘नोर्ड’ नामक जहाजको यात्राले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ।
मरीन ट्राफिक प्लेटफर्मको तथ्यांकअनुसार १४२ मिटर लामो उक्त जहाज शुक्रबार राति दुबईबाट प्रस्थान गरी आइतबार बिहान ओमानको राजधानी मस्कटस्थित ‘अल मौज मारिना’ पुगेको थियो।
ट्रयाकरमा देखिएको मार्गले जहाज नियमित समुद्री मार्ग हुँदै अघि बढेको देखाएको छ।
अत्याधुनिक सुविधासहितको यस सुपरयाटमा दुई हेलिप्याड, स्विमिङ पुल र पनडुब्बीसमेत रहेको बताइएको छ।
यद्यपि जहाजको स्वामित्व आधिकारिक रूपमा मोर्दाशोभकै नाममा नरहेको जनाइएको छ।
सन् २०२२ को अभिलेखअनुसार यो जहाज उनकी श्रीमतीको स्वामित्वमा रहेको कम्पनीमार्फत दर्ता गरिएको थियो।
इरानले पछिल्ला महिनाहरूमा हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजमाथि कडा निगरानी र अनुमति प्रणाली लागू गरेको बताइन्छ।
यस्तो अवस्थामा रुसी अर्बपतिको जहाज निर्वाध रूपमा पार हुनुलाई रुस–इरान सम्बन्धसँग जोडेर हेरिएको छ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले हालै सेन्ट पिटर्सबर्गमा राष्ट्रपति पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका थिए।
सो अवसरमा दुवै देशबीच रणनीतिक सहकार्यबारे छलफल भएको बताइएको छ।
मोर्दाशोभ रुसको ठूलो स्टिल तथा खानी कम्पनी ‘सेभर्सटल’ का मालिक हुन्।
फोर्ब्सका अनुसार उनी रुसका धनी व्यवसायीमध्ये एक हुन्।
सन् २०२२ मा युक्रेन युद्धपछि अमेरिका, बेलायत र युरोपेली संघले उनीमाथि प्रतिबन्ध लगाएका थिए।
यसअघि मार्च २०२२ मा उनको अर्को जहाज ‘लेडी एम’ इटालीमा जफत गरिएको थियो।
तर केही एशियाली र मध्यपूर्वी बन्दरगाहहरूले भने पश्चिमी दबाबका बाबजुद उनका जहाजमाथि कारबाही गरेका थिएनन्।
हर्मुज क्षेत्रमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यसमेत बढिरहेको छ।
विश्लेषकहरूले यो घटनालाई विश्व राजनीतिमा अमेरिका–पश्चिमी गठबन्धन र रुस–इरान ध्रुवीकरणको संकेतका रूपमा हेरेका छन्।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया