काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका अध्यादेशबारे उठेका टिप्पणीप्रति पार्टीको धारणा स्पष्ट गरेका छन्।
बुधबार बसेको संसदीय दलको बैठकमा उनले विगतका सरकारका अभ्याससँग तुलना गर्दै अहिलेको अध्यादेश आवश्यक सुधारका लागि ल्याइएको बताएका हुन्।
लामिछानेका अनुसार विगतमा अध्यादेशहरू राजनीतिक दल फुटाउने वा विपक्षीलाई लक्षित गर्ने उद्देश्यका लागि प्रयोग हुने गरेको भए पनि वर्तमान अभ्यास त्यस्तो नभई सुधारमुखी रहेको छ। उनले भने, ‘विगतमा दल विभाजन र विपक्षीलाई असर पार्ने गरी अध्यादेश ल्याइन्थ्यो, तर अहिलेको उद्देश्य सुधार गर्नु हो।’
उनले वर्तमान सरकारले गलत अभ्यास र अनावश्यक दलगतकरण सच्याउन खोजिरहेको दाबी गर्दै त्यसलाई रोकिएमा जनताको अपेक्षा पूरा गर्न कठिन हुने बताएका छन्।
लामिछानेले यो कदम कानुनी दायराभित्र रहेर लोकतान्त्रिक अभ्यासअनुसार अघि बढाइएको उल्लेख गर्दै रास्वपा कानुन, राजनीतिक आचरण र लोकतान्त्रिक प्रक्रियाप्रति गम्भीर रहेको दाबी गरे।
त्यस्तै, उनले विगतमा सत्तारूढ दलकै सांसद लेखा समिति प्रमुख बनेको उदाहरण दिँदै अहिले रास्वपाले त्यसलाई सच्याउने प्रयास गरेको पनि बताएका छन्।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया