काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा तीन प्रदेश मन्त्रीसहित सात जना प्रदेश सांसदहरूसँग स्पष्टीकरण सोधेको छ।
बुधबार बसेको समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका क्रममा अन्तर्घात गरेको ठहर गर्दै उनीहरूलाई जवाफ माग गर्ने निर्णय गरेको हो।
स्पष्टीकरण माग गरिएका मन्त्रीहरूमा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार र लुम्बिनी प्रदेशकै यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने रहेका छन्। कलवार महासमिति सदस्य हुन् भने सुनुवार पूर्व केन्द्रीय सदस्य हुन्।
त्यसैगरी, अनुशासनको कारबाही प्रक्रियामा परेका अन्य सांसदहरूमा लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका राजु खनाल, मधेश प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर राय छन्।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, उनीहरू सबैलाई पत्र प्राप्त भएको पाँच दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ।
निर्वाचनमा पार्टीको अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गर्ने क्रममा यो कदम चालिएको समितिले जनाएको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया