काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याउन लागेको ६ अध्यादेश कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई नागरिक हित र राज्य संयन्त्रलाई प्रभावकारी बनाउन लक्षित रहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत उनले कानुनी जटिलताका कारण जनसरोकारका कामहरू रोक्न नहुने लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै सरकारले अध्यादेश ल्याउने तयारी गरेको बताएका हुन्। यसले देशको समृद्धि यात्रालाई थप गति दिने उनको दाबी छ।

advertisement

साहका अनुसार वर्तमान सरकार गठन भएपछि सत्तारूढ रास्वपाका सभापति रवि लामिछानेले शासकीय सुधारका लागि राजनीतिक नियुक्तिमा रहेका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आह्वान गरेका थिए। तर सो प्रयासका बाबजुद कार्यसम्पादन र समन्वयमा देखिएका व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकार कानुनी बाटो रोज्न बाध्य भएको उनले बताए।

उनले भने, “यो कदमले कार्यसम्पादनमा देखिएका अवरोध (डेडलक) अन्त्य गरी नतिजामुखी शासन प्रणाली स्थापना गर्न सहयोग गर्नेछ।”

साथै उनले सार्वजनिक सरोकारका निर्णयहरू निश्चित समयभित्र सम्पन्न गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन अध्यादेश ल्याइएको उल्लेख गरे। पुराना र जटिल कानुनी व्यवस्थाका कारण जनहितका कामहरूमा हुने ढिलाइ अन्त्य गर्ने उद्देश्य रहेको र दशकौँदेखि अल्झिएका प्रक्रियागत समस्याको दिगो तथा वैज्ञानिक समाधान खोज्ने सरकारको लक्ष्य रहेको पनि उनले बताएका छन्।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com