काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा जरा गाडेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन स्थापित गर्नु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्।

राजधानीमा आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुशासन कायम गर्ने विषयमा सरकार कडाइका साथ अघि बढ्ने स्पष्ट पारे। उनका अनुसार सरकारले सुशासनलाई ‘म्याक्रो’ र ‘माइक्रो’ दुई तहमा वर्गीकरण गरी सुधारका पहलहरू अगाडि बढाएको छ।

advertisement

उनले भने, ‘म्याक्रो तहमा नीतिगत तथा संस्थागत कब्जा हटाउँदै हामी लुटतन्त्रबाट बाहिर निस्कने दिशामा अघि बढिरहेका छौँ। विगतमा रहेको विकृत अवस्थालाई सच्याउने मोडमा सरकार छ।’

माइक्रो तहमा भने आम नागरिकले पाउने सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य रहेको उनले बताए। सरकारी कार्यालयमा अनावश्यक लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्ने, घुसखोरी नियन्त्रण गर्ने र डिजिटल माध्यमबाट सेवाहरू उपलब्ध गराउने दिशामा सरकार सक्रिय रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले कानुन कार्यान्वयनका क्रममा अपराधीहरू पक्राउ पर्दा निजी क्षेत्रले ‘मनोबल खस्कियो’ भन्ने तर्क गर्नु उपयुक्त नहुने टिप्पणी गरे। उनले इमान्दार व्यवसायीलाई कुनै डर मान्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै भने, ‘इमान्दारीपूर्वक व्यवसाय गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू सुरक्षित छन्। तर व्यवसायको आवरणमा आपराधिक गतिविधिमा संलग्न हुनेहरू भने अब उम्किन पाउने छैनन्।’

उनले निजी क्षेत्रलाई देशको ७० खर्ब रुपैयाँभन्दा बढीको अर्थतन्त्रको प्रमुख संवाहक र करिब ७ प्रतिशत आर्थिक वृद्धिको मुख्य चालकको रूपमा उल्लेख गरे।

साथै, नेपालको केही कानुनी व्यवस्थाले इमान्दार व्यवसायीलाई समेत समस्या सिर्जना गर्ने अवस्था रहेको स्वीकार गर्दै उनले त्यस्ता कानुनमा सुधार गरिने प्रतिबद्धता जनाए।

पूर्वाधार विकासका सन्दर्भमा उनले भारतमा अपनाइएको सफल मोडलबाट प्रेरणा लिँदै ‘निजी लगानीमा आधारित पूर्वाधार विकास’ (Privately Financed Infrastructure) को अवधारणामा अघि बढ्ने सरकारको योजना रहेको जानकारी दिए।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com