तेहरान। क्षेत्रीय तनाव बढिरहेका बेला इरानले आफ्नो आणविक कार्यक्रम र क्षेप्यास्त्र क्षमताबाट पछि नहट्ने स्पष्ट चेतावनी दिएको छ।

अमेरिकी दबाब, आर्थिक नाकाबन्दी र युद्धविरामको अनिश्चित अवस्थाबीच आएको यो सन्देशलाई मध्यपूर्वमा नयाँ शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

advertisement

इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै वैज्ञानिक, प्राविधिक र सैन्य क्षमता राष्ट्रिय स्वाभिमानसँग जोडिएको बताए।

उनले ती संरचनाको संरक्षणलाई देशको अनिवार्य प्राथमिकता भएको उल्लेख गरे।

उनले पर्सियन खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि टिप्पणी गर्दै वर्तमान अवस्थालाई “इतिहासको नयाँ अध्याय” भनेका छन्।

यस अभिव्यक्तिले इरान अब बाह्य दबाबमा झुक्ने मनस्थितिमा नरहेको संकेत दिएको विश्लेषण गरिएको छ।

अमेरिकी नाकाबन्दीका कारण इरानको अर्थतन्त्र दबाबमा परेको छ।

अमेरिकी नौसेनाले इरानी तेल ट्यांकरहरूको आवागमनमा कडाइ गरेपछि निर्यातमा असर परेको छ भने विश्व बजारमा तेल आपूर्ति अस्थिर बनेको छ।

हर्मुज जलघाँटीमा इरानको प्रभावका कारण विश्वको ठूलो हिस्साको कच्चा तेल ढुवानी जोखिममा परेको छ।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको बताइएको छ।

तेलको मूल्य वृद्धिले विश्वव्यापी मुद्रास्फीति र ऊर्जा संकट गहिरिने चिन्ता बढाएको छ।

ऊर्जा आपूर्तिमा दबाब बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि घरेलु राजनीतिक दबाब चर्किएको छ।

खाडी क्षेत्रमार्फत तेल ढुवानी पुनः सहज बनाउन उनले नयाँ रणनीति अघि सार्न सक्ने संकेत दिएका छन्।

अमेरिका अहिले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्दै सहयोगी राष्ट्रहरूसँग मिलेर इरानमाथि थप दबाब सिर्जना गर्ने योजनामा रहेको जनाइएको छ।

अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना कूटनीतिज्ञलाई समुद्री स्वतन्त्रता कायम गर्न सहयोग जुटाउन निर्देशन दिएको छ।

अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले युरोपमा अमेरिकी सैनिक उपस्थितिको पुनरावलोकन गर्ने संकेत दिएका छन्।

जर्मनीपछि इटाली र स्पेनबाट समेत सेना फिर्ता हुन सक्ने उनको भनाइले नेटो सहयोगी राष्ट्रहरूबीच नयाँ बहस सुरु भएको छ।

इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी दोहोर्‍याएको छ।

तर उच्च स्तरमा युरेनियम समृद्धि गरिरहेको तथ्य बाहिर आएपछि पश्चिमी राष्ट्रहरू सशंकित बनेका छन्।

तनाव कम गर्न पाकिस्तानले अमेरिका र इरानबीच अप्रत्यक्ष संवादको सहजीकरण गरिरहेको जनाएको छ।

प्रत्यक्ष वार्ता भए संकट समाधान सहज हुन सक्ने इस्लामाबादको धारणा छ, तर अहिलेसम्म कुनै ठोस प्रगति सार्वजनिक भएको छैन।

यसबीच लेबनानको दक्षिणी क्षेत्रमा इजरायल र हिजबुल्लाहबीच झडप जारी छ। युद्धविरामका बाबजुद छिटफुट आक्रमण भइरहेका छन्।

संयुक्त अरब इमिरेट्सले इरान, लेबनान र इराकमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन तथा आवश्यक परे फर्किन आग्रह गरेको छ।

समग्र अवस्थाले मध्यपूर्वमा शान्तिभन्दा तनाव अझ जटिल बन्दै गएको संकेत गरेको छ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com