काठमाडौं। म्यानमारको सरकारी सञ्चारमाध्यमले पूर्व नेतृ आङ सान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारिएको दाबी गरेको छ। तर परिवार पक्षले उक्त दाबीप्रति शंका व्यक्त गरेको छ।
८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकी सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि निरन्तर हिरासतमा रहेकी छन्। उनलाई राजधानी नेपिडवस्थित सैन्य जेलमा राखिएको विश्वास गरिँदै आएको थियो।
सैन्य प्रमुख मिन आङ ह्लाइङद्वारा जारी विज्ञप्तिमा सुकीलाई “तोकिएको निवासमा बाँकी सजाय बिताउन अनुमति दिइएको” उल्लेख गरिएको छ। यस घोषणालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ।
मिन आङ ह्लाइङकै नेतृत्वमा २०२१ मा सैन्य विद्रोह भएपछि निर्वाचित सरकार अपदस्थ गरिएको थियो। त्यसयता म्यानमार गृहयुद्धजस्तै अवस्थाबाट गुज्रिरहेको छ।
सुकी सन् २०१५ मा लोकतान्त्रिक सुधारपछिको चुनावमा विजयी भई सत्तामा पुगेकी थिइन्। त्यसअघि उनी लामो समय सैन्य शासनविरुद्ध प्रजातन्त्र आन्दोलनको प्रतीकका रूपमा चिनिन्थिन्।
यसअघि पनि उनी १५ वर्षभन्दा बढी समय घरमै नजरबन्दमा बसेकी थिइन्। त्यसैले पुनः घरमै सारिएको दाबीलाई धेरैले राजनीतिक सन्देशका रूपमा पनि हेरिरहेका छन्।
सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको एक तस्बिरमा सुकी दुई जना अधिकारीसँग बसेको देखिएकी छन्। तर उनका छोरा किम एरिसले उक्त तस्बिर पुरानो हुन सक्ने भन्दै विश्वास गर्न नसकिने बताएका छन्।
उनले बीबीसीसँग कुरा गर्दै आफ्नी आमा जीवित छिन् भन्ने विश्वसनीय प्रमाणसमेत आफूले नपाएको बताएका छन्। “मलाई यो सत्य होस् भन्ने आशा छ, तर अहिलेसम्म ठोस प्रमाण भेटिएको छैन,” उनले भने।
म्यानमारमा सेनाले विपक्षी नेताहरूलाई नियन्त्रणमा राख्दै आएको र राजनीतिक स्वतन्त्रता सीमित बनाएको आरोप लाग्दै आएको छ। सुकीलाई घरमै सारिएको दाबीले अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयास हो कि वास्तविक राहत हो भन्ने विषयमा अझै अन्योल कायम छ।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार











प्रतिक्रिया