काठमाडौं। १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रमिक लक्षित तीन वटा प्रमुख घोषणा गरेका छन्।
भिडियो सन्देशमार्फत मन्त्री यादवले श्रमिकको सुरक्षा, सामाजिक सुरक्षा र श्रम अधिकार सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै विभिन्न नयाँ कार्यक्रमहरू सुरु गरिएको जानकारी दिए।
पहिलो घोषणा: पाँच वर्षे सुरक्षा कार्यक्रम
मन्त्री यादवले पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको बताए।
यो कार्यक्रमले देशभित्रका श्रमिकलाई सुरक्षित कार्य वातावरण, स्वास्थ्य सुरक्षा र कार्यस्थलमा हुने जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।
दोस्रो घोषणा: विदेशमा रहेका श्रमिकसँग प्रत्यक्ष संवाद
विदेशमा रहेका नेपाली श्रमिकको समस्या समाधानलाई प्रभावकारी बनाउन अब नेपाली दूतावासका श्रम सहचारी तथा कन्सुलरमार्फत हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने भएको छ।
यसबाट श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र गुनासो समाधान सहज हुने अपेक्षा गरिएको छ।
तेस्रो घोषणा: सामाजिक सुरक्षा कोषमा नयाँ सुविधा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूलाई लक्षित गर्दै ६ प्रतिशत ब्याजदरमा घडेरी खरिद कर्जा उपलब्ध गराइने घोषणा गरिएको छ।
साथै, आवश्यकताअनुसार श्रमिकले १ करोड ५० लाख रुपैयाँसम्म सापटी लिन सक्ने व्यवस्था पनि मिलाइएको छ।
मन्त्री यादवले श्रमको सम्मान नै राष्ट्र विकासको आधार भएको उल्लेख गर्दै सरकारले श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्ने बताए।
उनले नीतिगत सुधार, संस्थागत पुनर्संरचना र नयाँ रोजगारी सिर्जनाका कार्यक्रमहरू पनि अघि बढाइने जानकारी दिए।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया