काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार स्पष्ट बहुमतमा भए पनि ‘गलत बुझाइ’ र ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा ‘रुल अफ ल’ (कानुनको शासन) र ‘रुल बाइ ल’ (कानुनद्वारा शासन) बीचको फरक बुझ्न नसक्दा समस्या उत्पन्न भइरहेको बताए।

advertisement

थापाले भने, ‘डेमोक्रेसीमा अपेक्षित कुरा रुल अफ ल हो, जहाँ सरकार कानुनको सेवक हुन्छ। तर रुल बाइ ल भनेको सरकार आफैँले कानुनलाई लाठीजस्तो प्रयोग गर्ने प्रवृत्ति हो।’ उनका अनुसार बाहिरबाट हेर्दा यी दुई शब्द उस्तै लागे पनि अर्थ र अभ्यासमा ठूलो भिन्नता हुन्छ।

उनले वर्तमान सरकार कानुनलाई शासनको उपकरणका रूपमा प्रयोग गर्ने सोचतर्फ उन्मुख हुन नहुने चेतावनी दिए।

सभापति थापाले पछिल्लो निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकार सञ्चालनको जनादेश दिएको र नेपाली कांग्रेसलाई संघीय तहमा पाँच वर्ष प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएको बताए।

उनका अनुसार लोकतन्त्रमा प्रतिपक्षको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। प्रतिपक्षले सही रूपमा काम नगरे सरकारलाई जवाफदेही बनाउन नसकिने उनले स्पष्ट पारे। ‘प्रतिपक्षको काम प्रश्न उठाउने, खबरदारी गर्ने, आवश्यक परे प्रतिवाद गर्ने र विकल्प प्रस्तुत गर्ने हो,’ उनले भने।

थापाले आगामी पाँच वर्ष कांग्रेसले सभ्य, विनम्र र जिम्मेवार ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। साथै, उनले सरकारलाई चेतावनी दिँदै कांग्रेसको विनम्रतालाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरे।

‘हामी विनम्र छौँ तर कमजोर होइनौँ। सहयोगी भएर पनि हामी आफ्नो दायित्व पूरा गर्छौं। सरकारलाई सहयोग गर्दै पनि जायज आवाज उठाउन कुनै कसर बाँकी राख्दैनौँ,’ उनले भने।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com