काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील र चार आर्य सत्य सिद्धान्तहरू मार्गदर्शक बन्न सक्ने बताएका छन् ।

२५७० औँ बुद्ध जयन्तीको अवसरमा शुक्रबार आयोजित बृहद् बौद्ध सभालाई सम्बोधन गर्दै उनले आजको विश्व द्वन्द्व, असहिष्णुता, जलवायु सङ्कट र मानवीय मूल्यहरूको क्षयजस्ता चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै बुद्धका उपदेशहरू अझ बढी सान्दर्भिक बनेको बताए ।

advertisement

राष्ट्रपतिले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार यसले व्यक्ति, समाज र राष्ट्र मात्र होइन, सम्पूर्ण विश्वलाई सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुर्‍याउनेछ ।

उनले बुद्धको दर्शन शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित भएकाले यसले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको बाटोतर्फ लैजान महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

राष्ट्रपतिले बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय मात्र नभई ठूलो जिम्मेवारी पनि भएको उल्लेख गर्दै विविधता र बहुलताको उचित व्यवस्थापन गर्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु आजको नेपालको आवश्यकता भएको स्पष्ट पारे ।

उनले बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

साथै वैशाख शुक्ल पूर्णिमाको दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण जस्ता तीन महत्वपूर्ण घटनाहरू एकै दिन परेको उल्लेख गर्दै यसलाई अद्वितीय र पवित्र दिनका रूपमा स्मरण गरिने बताए ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com