काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले अवलम्बन गरेको शैलीप्रति कडा आपत्ति जनाएका छन्।

शुक्रबार उनले सरकार आफ्नै नागरिकप्रति ‘निर्मम र दमनकारी’ रूपमा प्रस्तुत भएको आरोप लगाउँदै यस्तो गतिविधि तुरुन्त रोक्न माग गरे। उनका अनुसार सुकुमबासी बस्तीमा डोजर प्रयोग गर्नु केवल संरचना भत्काउने कार्य मात्र नभई राज्यको वास्तविक चरित्र उजागर गर्ने दृश्य हो।

advertisement

उनले प्रश्न उठाए, “के राज्य आफ्नै नागरिकसँग युद्ध लडिरहेको छ? यदि होइन भने सुकुमबासी व्यवस्थापनको नाममा किन यस्तो निर्दयी व्यवहार भइरहेको छ?” आङ्देम्बेको भनाइमा, वास्तविक सुकुमबासी छुट्याए बिना सबैलाई एकै ढंगले विस्थापित गर्नु अमानवीय र निन्दनीय कार्य हो।

उनले सुरक्षाकर्मी, यहाँसम्म कि सेनाको परिचालन गरेर गरिएका कारबाहीले राज्यलाई संरक्षकभन्दा ‘त्रासको प्रतीक’ बनाउने खतरा बढाएको पनि बताएका छन्। मनोहरा बस्तीका एक किशोर र बल्खुस्थित बागमती किनारका एक वृद्धले आत्महत्या गरेको घटनालाई उल्लेख गर्दै उनले राज्यको नीतिले मानवीय संकट गहिरिँदै गएको टिप्पणी गरे।

आङ्देम्बेले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र प्रभावित नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। साथै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुत्केरी, असहाय र ज्येष्ठ नागरिकहरूको मानवीय व्यवस्थापन तथा बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराएका छन्।

उनले सिडिओमार्फत स्थानीय तहलाई बस्ती हटाउन निर्देशन दिनु र सेनाबाट सुकुमबासीको लगत सङ्कलन गरिनु गलत अभ्यास भएको दाबी गर्दै यसलाई लोकतान्त्रिक मूल्यविपरीतको कदम बताएका छन्।

आङ्देम्बेले भने, “जनताले दिएको जनमतको प्रतिफल यदि यस्तो क्रूरतापूर्ण उठिबास हो भने हामी त्यसप्रति गम्भीर छौँ। यस्ता अमानवीय गतिविधि तत्काल रोक्न सरकारलाई आग्रह गर्दछौँ, अन्यथा यसको परिणाम गम्भीर हुन सक्छ।”

उनले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट उक्त कदमको घोर भर्त्सना गर्दै सरकारलाई तुरुन्त हस्तक्षेप रोक्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com