काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बागमती नदी किनारमा सुकुमवासीमाथि गरिएको कारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसबाट बगेको आँशुले देशको अवस्था झल्काउने बताएका छन्।
शनिबार आयोजित जिल्ला समन्वय समितिको जिम्मेवारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै विकासको स्वरूपबारे प्रश्न उठाएका हुन्।
ज्ञवालीले प्रधानमन्त्रीको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने भनाइ स्मरण गराउँदै भने, ‘बागमतीमा बगेका आँशुले नेपाल हाँसिरहेको देखाउँछ कि रोइरहेको ?’
उनले सुकुमवासी बस्तीमा केही अवाञ्छित व्यक्तिहरू हुनसक्ने स्वीकार गर्दै त्यस्तो अवस्था पहिचान र छानबिनमार्फत छुट्याउन सकिने धारणा व्यक्त गरे। पर्याप्त सुरक्षा संयन्त्र परिचालन गर्न सक्ने सरकारले केही समय लगाएर प्रमाणका आधारमा वास्तविक पीडितको पहिचान गर्न सक्थ्यो भन्ने उनको भनाइ थियो।
‘थापाथली क्षेत्रमा बस्ती हटाउँदा ठूलो संख्यामा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र यहाँसम्म कि सेना समेत परिचालन गरिएको देखियो,’ उनले भने, ‘यति स्रोत परिचालन गर्न सकिने भए एक हप्ता समय दिएर व्यवस्थित रूपमा छानबिन गर्दा के बिग्रिन्थ्यो ?’
ज्ञवालीले वर्तमान शैलीको विकास मानवकेन्द्रित नभएको भन्दै चिन्ता व्यक्त गरे। ‘हामीले चाहेको विकास मान्छेलाई केन्द्रमा राख्ने हुनुपर्छ। यदि विकासको प्रक्रियामा मान्छे नै विस्थापित र पीडित बनाइन्छ भने त्यस्तो विकासको अर्थ के हुन्छ ?’ उनले प्रश्न गरे।
उनले गरिब र कमजोर वर्गको पीडा बेवास्ता गर्दै गरिएको विकास दीगो र न्यायोचित हुन नसक्ने उल्लेख गरे। ‘सहर सुन्दर बन्न सक्छन्, सडक फराकिला हुन सक्छन्, पार्क बन्न सक्छन्। तर त्यसका लागि मान्छे रुनुपर्ने अवस्था आयो भने त्यो हाम्रो अपेक्षाअनुसारको विकास होइन,’ उनले स्पष्ट पारे।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया