काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
नेता दामन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताएका हुन्।
उनले नेपाली कांग्रेसको लेगेसी दमन पाख्रेल, दुर्गानन्द झा, रामनारायण मिश्रजस्ता योद्धा र विद्रोहीहरूको बलिदानीपूर्ण इतिहासमा अडिएको उल्लेख गर्दै यसको जगेर्ना गर्ने मुख्य जिम्मेवारी पार्टीकै भएको बताए।
उनले भने, ‘पुरानोलाई थोत्रो वा खराब मान्ने र नयाँलाई मात्र असल मान्ने प्रवृत्तिले समाजको अनुभव र विवेक (विजडम) नष्ट गर्छ। यदि नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति र पुर्खाको योगदानमा गर्व गर्न छाड्यो भने राष्ट्रको अस्तित्व नै सङ्कटमा पर्न सक्छ।’
पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सभापति थापाले सार्वजनिक पदमा रहेका कांग्रेसका प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिए। पार्टी सञ्चालनका लागि कसैले पनि नेता वा पार्टीको खातामा अवैध रकम जम्मा गर्नु नपर्ने र लेभी प्रणालीबाटै पार्टी चल्नुपर्नेमा उनको जोड थियो।
सभापति थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्ने र प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिए। सातै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिलाई बोलाएर अर्थतन्त्रको वर्तमान सङ्कट र प्रदेशका प्राथमिकताहरूका बारेमा पार्टीले ठोस संवाद गर्ने उनको भनाइ थियो।
पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको बताए।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार












प्रतिक्रिया