काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन नबनाइने स्पष्ट पारेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्बासीका विषयमा सम्बन्धित प्राधिकरण वा आयोगले गरेका निर्णय कार्यान्वयन हुने बताए।
लामिछानेका अनुसार नदी किनार, पहिरो वा बाढीको उच्च जोखिम भएका स्थानमा बसोबास गरिरहेका नागरिकलाई यथाशीघ्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक छ। तर, यस्तो प्रक्रियामा कसैलाई पनि घरबारविहीन बनाइने छैन।
उनले भने, ‘जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्नु अनिवार्य छ, तर त्यसक्रममा नागरिकलाई बेघर बनाइँदैन। यो सरकारको स्पष्ट नीति हो।’
सभापति लामिछानेले असुरक्षित बसोबासबारे सरकारले प्रारम्भदेखि नै सूचना जारी गर्दै आएको र काठमाडौँसहित देशभरका सुकुम्बासीलाई सोही सन्देश दिइएको बताए।
उनले जनतालाई त्रसित बनाउने खालका गतिविधि केन्द्र सरकारबाट नभएको दाबी गर्दै सरकारको उद्देश्य व्यवस्थित र सुरक्षित बसोबास सुनिश्चित गर्नु रहेको बताए।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार













प्रतिक्रिया