काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा ५५ वर्षीया एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने र मलमुत्र खुवाउने जस्तो अमानवीय व्यवहारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कटहरिया नगरपालिका–९, डुमरिया टोलमा शनिबार भएको घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार स्थानीय केही व्यक्तिहरूले ती महिलालाई ‘बोक्सी’ भन्दै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। कुटपिटकै क्रममा पीडितलाई जबरजस्ती मलमुत्र खुवाइएको जनाइएको छ, जसले घटनालाई अझै क्रूर र अपमानजनक बनाएको छ।
घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएकी थिइन्। उजुरीलगत्तै खटिएको प्रहरी टोलीले शंकर माझीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदीप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ भने पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया