काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिका कारण प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ।
सोमबार बिहान ११ बजेका लागि तय गरिएको बैठक अन्ततः नबस्दै स्थगित गरिएको हो। समितिका सचिव सहसचिव कान्छा दुलालका अनुसार समितिको कार्यक्षेत्रभित्र पर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह, रक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने भएकाले सम्बन्धित मन्त्रीहरूको उपस्थिति आवश्यक मानिन्छ।
उनले समितिमा मन्त्रीहरू उपस्थित नभई बैठक सञ्चालन गर्ने परम्परा नरहेको स्पष्ट पारे। प्रधानमन्त्री स्वयंले गृह र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पनि अन्य कार्यक्रममा व्यस्त रहेकाले बैठक स्थगित गर्नुपरेको उनको भनाइ छ।
बैठकमा समितिको कार्यक्षेत्र, कार्यदिशा तथा आगामी कामकारबाहीबारे छलफल गर्ने कार्यसूची तय गरिएको थियो। समितिको सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको औपचारिक सूचना जारी गरेको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया