काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई थप कडा र प्रणालीगत बनाउने तयारी गरेको छ।
पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदाअनुसार अब रास्वपाबाट उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। पार्टीले यसलाई परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले योग्य र दक्ष नेतृत्व छनोट गर्ने माध्यमका रूपमा प्रस्तुत गरेको छ।
प्रस्तावित मापदण्डअनुसार उम्मेदवारले संवैधानिक योग्यता पूरा गर्नुका साथै सुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वप्रति स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेछ। २१ वर्ष उमेर पूरा भएको र सम्बन्धित स्थानीय तहकै मतदाता हुनुपर्ने कानुनी प्रावधान यथावत राखिएको छ।
रास्वपाले उम्मेदवार बन्नुअघि अन्य कुनै पनि राजनीतिक दलको सदस्यता त्याग गरिसकेको हुनुपर्ने सर्त पनि अनिवार्य गरेको छ। साथै, उम्मेदवारले सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र लगायत आवश्यक कागजातहरू मागिएका बखत पेश गर्नुपर्नेछ।
नैतिक र आर्थिक शुद्धतालाई विशेष प्राथमिकतामा राख्दै पार्टीले सहकारी बचत अपचलन, मिटरब्याज, सट्टेबाजी, हप्ता असुली तथा हुन्डी जस्ता अवैध आर्थिक गतिविधिमा संलग्न व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, शैक्षिक प्रमाणपत्रको आधिकारिकता तथा पारिवारिक र वैवाहिक अवस्थाबारे स्पष्ट स्वघोषणा गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।
डिजिटल आचरणलाई समेत मापदण्डमा समावेश गर्दै घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, सार्वजनिक अमर्यादित व्यवहार वा सामाजिक सञ्जालमार्फत हुने साइबर बुलिङ र चरित्र हत्या जस्ता गतिविधिमा संलग्न व्यक्तिलाई उम्मेदवारीबाट वञ्चित गरिने उल्लेख गरिएको छ।
यसैगरी, ठेक्कापट्टा वा सार्वजनिक खरिद प्रक्रियामा स्वार्थ बाझिने अवस्था भएका तथा अदालत वा अख्तियारमा भ्रष्टाचार वा फौजदारी मुद्दा विचाराधीन रहेका व्यक्तिलाई पनि उम्मेदवार बन्न नदिने प्रावधान प्रस्ताव गरिएको छ।
यी व्यवस्थामार्फत रास्वपाले स्वच्छ छवि, उच्च नैतिक धरातल र उत्तरदायी नेतृत्वलाई प्राथमिकता दिने लक्ष्य राखेको जनाएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया