काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्र नेपालको भू–भाग भएको आफ्नो अडान पुनः दोहोर्याएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सीमाना विवादित क्षेत्र नेपालकै भएकोमा सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताएका हुन्।
उनका अनुसार परराष्ट्र मन्त्रालयले आइतबार कूटनीतिक नोट जारी गर्दै उक्त क्षेत्रमा कुनै पनि एकतर्फी गतिविधि नगर्न छिमेकी देशहरू भारत र चीन लाई आग्रह गरेको थियो।
यस विषयमा प्रतिक्रिया दिँदै भारतले मानसरोवर जाने मार्ग पुरानै विषय भएको दाबी गरेको छ।
प्रवक्ता सस्मित पोखरेल ले विवाद समाधानका लागि आपसी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कूटनीतिक संवादमार्फत निकास खोजिनुपर्ने बताए। परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको छ, र भारतले पनि खुला सहकार्यबाट समाधान खोज्नुपर्ने धारणा राखेको छ, उनले भने।
सरकारले सम्बन्धित पक्षहरूसँग समन्वय गर्दै सीमाना विवाद समाधानका लागि कूटनीतिक पहललाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया