काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि कर्जा नतिर्ने ऋणीहरूलाई तत्काल बक्यौता चुक्ता गर्न कडा निर्देशन दिएको छ।
समितिले एक सार्वजनिक सूचना जारी गर्दै साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम यथाशीघ्र भुक्तानी गर्न स्पष्ट अल्टिमेटम दिएको हो।
समितिले सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन यो कदम चालिएको जनाएको छ।
वर्षौँदेखि बचतकर्ताको रकम फिर्ता हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै ऋणीहरूबाट असुल हुन बाँकी रकम संकलन गरी सर्वसाधारण बचतकर्ताको पैसा फिर्ता गर्ने उद्देश्यका साथ यो अभियान अघि बढाइएको समितिको भनाइ छ। समितिका अनुसार ऋणीहरूको असहयोग र समयमै कर्जा नतिर्ने प्रवृत्तिका कारण हजारौँ बचतकर्ताको रकम जोखिममा परेको छ।
समितिले ऋणी सदस्यहरू मात्र नभई सम्बन्धित सहकारीका सञ्चालक, व्यवस्थापक तथा जमानीकर्ताहरूलाई समेत तत्काल कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको छ।
तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने वा कर्जा चुक्ता नगर्ने व्यक्तिहरूको हकमा कानुनअनुसार जायजेथा रोक्का गर्ने, कालोसूचीमा राख्ने तथा अन्य कडा कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
समितिले यसअघि पटक–पटक गरिएका ताकेतालाई बेवास्ता गरिएको भन्दै अब कडा कार्यान्वयनमा जाने संकेत गरेको छ, जसले सहकारी क्षेत्रमा बढ्दो ऋण असुली संकटलाई थप गम्भीर बनाएको देखिन्छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया