काठमाडौं । सरकारले पेट्रोलियम पदार्थसहितका इन्धनको मूल्य तत्काल घटाउने अवस्था नरहेको स्पष्ट पारेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निर्धारण गर्ने मूल्यअनुसारनै इन्धन खरिद गर्नुपर्ने बाध्यता भएकाले मूल्य घटाउन नसकिने बताएका हुन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले परिस्थितिवश कहिलेकाहीँ मूल्य समायोजन (वृद्धि) गर्नुपर्ने अवस्था आउने बताए।
उनका अनुसार उपभोक्ताहरूले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारमाथि दबाब दिइरहेका भए पनि हाल खाना पकाउने ग्यास, पेट्रोललगायतका इन्धनमा सरकार स्वयं घाटा व्यहोरेर आपूर्ति गरिरहेको छ।
सचिव राउतले स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू गरिए हालभन्दा पनि इन्धनको मूल्य अझ उच्च हुने अवस्था आउने बताए। उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले सरकारले पूर्ण रूपमा स्वचालित मूल्य निर्धारण प्रणाली लागू नगरेको उनको भनाइ छ।
‘महँगोमा खरिद गरेर सस्तोमा बिक्री गर्दा विगतको सञ्चित नाफासमेत समाप्त भइसकेको छ,’ उनले भने, ‘यही कारणले सरकारले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको हो। पूर्ण रूपमा स्वचालित प्रणालीमा जाने हो भने मूल्य अझ बढ्ने देखिन्छ, त्यसैले सरकारले सकेसम्म कम मूल्यमा आपूर्ति गर्ने प्रयास गरिरहेको छ।’
यसैबीच, उनले नेपाल आयल निगम हाल नाफामा नरहेकाले त्यहाँ कार्यरत कर्मचारीलाई बोनस वितरण गर्ने अवस्था पनि नरहेको स्पष्ट पारे।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया