काठमाडौं। राधास्वामी सत्सङ्ग व्यास आश्रम मा आश्रय लिएर बसिरहेका बालबालिकामध्ये ५२ जना आजदेखि नियमित रूपमा विद्यालय जान थालेका छन्।
काठमाडौं महानगरपालिका को शिक्षा विभागले सोमबार अभिभावक र विद्यार्थीसँग छलफल गरी उनीहरूको रुचि र आवश्यकताअनुसार व्यवस्था मिलाएपछि उनीहरूलाई वडा नम्बर १४ स्थित जनविकास माध्यमिक विद्यालय मा पठाइएको शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए।
नदी किनारामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बस्ती हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगललगायत स्थानबाट स्थानान्तरण गरिएका ६६ परिवारका २०३ जना हाल आश्रममा बस्दै आएका छन्।
तीमध्ये ३१ बालिका र ३० बालक गरी विद्यालय उमेरका ५२ जना बालबालिका रहेका छन्।
चार जना विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिएका छन् भने उनीहरूले कम्प्युटर, सिलाइबुनाइजस्ता सीपमूलक तालिमप्रति रुचि देखाएका छन्।
महानगरपालिकाले उनीहरूको मागअनुसार सीप विकास तालिमको व्यवस्था गर्ने तयारी गरेको जनाएको छ।
विद्यालय उमेरका बालबालिकामध्ये ३० जनाका अभिभावकले आफ्ना छोराछोरीलाई छात्राबासमा राखेर पढाउन चाहेको पनि जनाइएको छ।
तीमध्ये ११ छात्रा र १९ छात्र छात्राबासमा बस्न इच्छुक छन्।
महानगरपालिकाले आवश्यक पोशाक, शैक्षिक सामग्री तथा आवासीय शिक्षाको व्यवस्थापनका लागि निजी विद्यालयसँग सहकार्य अघि बढाएको छ।
प्याब्सन, एनप्याब्सन र हिसान मार्फत छात्राबाससहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन पहल भइरहेको छ।
कामपाका अनुसार १० वर्षमाथिका बालबालिकालाई प्राथमिकतामा राखेर छात्राबास व्यवस्थापन गरिनेछ।
निजी विद्यालयबाट प्रतिक्रिया आएपछि इच्छुक तथा योग्य बालबालिकालाई आवासीय शिक्षामा पठाइने योजना रहेको जनाइएको छ।
यस पहललाई होल्डिङ सेन्टरमा रहेका बालबालिकाको शिक्षालाई निरन्तरता दिने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया