काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउने प्रक्रिया अघि बढाएका छन्। यसका लागि उनले राईसँग लिखित स्पष्टीकरण मागेका थिए, जसको जवाफ राईले बुझाइसकेका छन्।
सभामुखले मुख्यतः दुई विषयमा स्पष्टीकरण सोधेका छन्। पहिलो, प्रतिनिधिसभाअन्तर्गतका संसदीय विषयगत समितिहरूलाई सक्रिय बनाउन अपेक्षित पहल किन नगरेको भन्ने प्रश्न छ। दोस्रो, सांसदहरूलाई बोल्ने समय निर्धारण गर्दा पक्षपातपूर्ण प्रस्ताव ल्याएको आरोपबारे जवाफ मागिएको छ।
२१ फागुनमा सम्पन्न निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाले २७ चैतमै विषयगत समितिहरू गठन गरेको थियो भने वैशाख ४ गते सबै समितिले सभापति पाइसकेका छन्। तर, नेतृत्व चयन भइसके पनि समितिहरू अपेक्षाअनुसार सक्रिय हुन नसकेको भन्दै सभामुखले यसलाई कार्यसम्पादनसँग जोडेर सचिवसँग स्पष्टीकरण मागेका हुन्।
सचिव राई अघिल्लो सभामुख देवराज घिमिरे को सिफारिसमा २०८१ पुस १६ गते नियुक्त भएका थिए। नेपालको संविधानको धारा १०६ अनुसार सभामुखको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाका सचिव नियुक्त गर्ने व्यवस्था छ।
अब उनलाई पदबाट हटाउन सभामुखले राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्नेछन्, र राष्ट्रपतिबाट निर्णय भएपछि मात्र सचिव पदमुक्त हुने कानुनी प्रावधान छ।
संघीय संसदका महासचिव तथा सचिवहरूको सेवा–शर्तसम्बन्धी ऐन, २०७५ अनुसार कार्यक्षमता अभाव, खराब आचरण वा कर्तव्यपालनमा लापरबाही देखिएमा सम्बन्धित सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले पदबाट हटाउन सक्ने व्यवस्था छ।
यद्यपि, यस्तो कारबाही अघि सम्बन्धित पदाधिकारीलाई सफाइ पेश गर्ने उचित अवसर दिनुपर्ने कानुनी प्रावधानअनुसार नै सभामुख अर्यालले सचिव राईसँग स्पष्टीकरण मागेका हुन्।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया