मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।
मंगलबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।
यो निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।
प्रदेशको प्रशासनिक संरचना थप प्रभावकारी र मितव्ययी बनाउन गठित उच्चस्तरीय अध्ययन समितिको सिफारिसका आधारमा मन्त्रालयको संख्या घटाउने निर्णय गरिएको हो। उक्त समितिले १४ मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्न सुझाव दिएको थियो।
पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा गठित प्रशासनिक संरचना पुनरावलोकन तथा सुझाव समितिले मन्त्रालयहरूको संख्या बढे पनि कार्यसम्पादनमा अपेक्षित सुधार नदेखिएको निष्कर्ष निकालेको थियो।
समितिले संगठनात्मक आवश्यकता र कार्यभारभन्दा बढी आन्तरिक दलीय सन्तुलन मिलाउन मन्त्रालय विस्तार गरिएको ठहर गर्दै व्यापक पुनर्संरचनाको आवश्यकता औँल्याएको थियो।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया