काठमाडौं। राजधानीको पशुपति क्षेत्रबाट सडक सहयोगापेक्षी व्यक्तिहरू को उद्धार तथा व्यवस्थापनका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।

काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोषमानव सेवा आश्रम को संयुक्त पहलमा वडा नं. ८ तिलगंगामा मंगलबारदेखि यो सेवा सुरु गरिएको हो।

advertisement

सेन्टर सञ्चालनको पहिलो दिन ३६ जनालाई उद्धार गरिएकोमा २८ जनालाई केन्द्रमा राखिएको छ। बाँकीमध्ये ६ जना भने सेन्टर पुगेपछि पर्खाल नाघेर भागेका थिए।

सोही दिन महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले सेन्टरको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, सेवा सुविधा र व्यवस्थापनबारे जानकारी लिइन्।

उनले सहयोगापेक्षीलाई सडकबाट व्यवस्थित जीवनतर्फ ल्याउने लक्ष्य रहेको बताउँदै श्रम गर्न सक्नेहरूलाई रोजगारीतर्फ र असहायलाई मानवोचित बसोबासको व्यवस्था गरिने स्पष्ट पारिन्।

उनका अनुसार उद्धार गरिएकामध्ये पारिवारिक पुनर्मिलन प्राथमिक लक्ष्य हुनेछ भने पूर्ण रूपमा बेवारिसे र असहाय व्यक्तिलाई मात्र दीर्घकालीन रूपमा आश्रममा राखिनेछ।

उनले बिरामी व्यक्तिहरूको तत्काल उपचारको व्यवस्था गर्नसमेत निर्देशन दिएकी थिइन्।

सुवासचन्द्र जोशी ले सेन्टरको संरचना थप सुरक्षित र व्यवस्थित बनाउन कोषले आवश्यक काम गर्ने बताए।

त्यस्तै कृष्ण पौडेल का अनुसार उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या देखिएको छ भने एक ज्येष्ठ नागरिक कुकुरको आक्रमणबाट घाइते भएका छन्।

उद्धार गरिएकामध्ये ६ जना महिला र बाँकी पुरुष छन्। उनीहरूको उमेर २५ वर्षदेखि ७८ वर्षसम्म रहेको छ।

विभिन्न जिल्लाहरू—सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखा लगायतबाट आएका व्यक्तिहरू यस अभियानमार्फत उद्धार गरिएको जनाइएको छ।

महानगरले ‘सहयोगापेक्षी मुक्त काठमाडौं’ अभियानलाई प्रभावकारी बनाउन परिवार, समुदाय र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको पनि जोड दिएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com