कीभ। युक्रेनले प्रस्ताव गरेको अनिश्चितकालीन युद्धविराम लागू हुनुअघि नै रुस ले पूर्वी तथा दक्षिण–पूर्वी क्षेत्रमा व्यापक आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ।
मंगलबार भएका आक्रमणमध्ये एक घटनामा मात्रै १२ जनाले ज्यान गुमाएको बताइएको छ।
यो आक्रमण दोस्रो विश्वयुद्ध मा नाजी जर्मनीमाथि सोभियत संघको विजयको स्मृतिमा रेड स्क्वायर मा आयोजना हुने सैन्य परेडको पूर्वसन्ध्यामा भएको हो।
रुसले मे ८–९ का लागि सीमित युद्धविराम घोषणा गरे पनि युक्रेन ले भने त्यसलाई पर्याप्त नठानी अनिश्चितकालीन युद्धविराम प्रस्ताव गरेको थियो।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की ले एक दिनको मात्रै युद्धविराम स्वीकार्य नहुने स्पष्ट पार्दै रुसमाथि निरन्तर आक्रमण जारी राखेको आरोप लगाएका छन्।
सबैभन्दा ठूलो क्षति जापोरिज्जिया क्षेत्रमा भएको छ, जहाँ हवाई बम र ड्रोन आक्रमणबाट कम्तीमा १२ जनाको मृत्यु र २० जना घाइते भएका छन्।
आक्रमणबाट आवासीय भवन, व्यवसायिक संरचना र उद्योगहरूमा व्यापक क्षति पुगेको छ।
त्यस्तै क्रामाटोर्स्क मा ६ जनाको मृत्यु भएको छ भने डिनिप्रो मा थप ४ जनाले ज्यान गुमाएका छन्।
अन्य क्षेत्रमा पनि आक्रमणका कारण सर्वसाधारण प्रभावित भएका छन्।
यसबीच, युक्रेनले युद्धविराम प्रस्ताव कार्यान्वयनमा ल्याउन आग्रह गरिरहे पनि रुसी पक्षले त्यसप्रति खासै चासो नदेखाएको आरोप लगाइएको छ।
दुवै पक्षबाट ड्रोन तथा हवाई आक्रमण जारी रहँदा क्षेत्रीय तनाव झन् चर्किएको छ।
युद्धविराम लागू हुने समय नजिकिँदै गर्दा समेत आक्रमण नरोकिएकोले शान्ति प्रयासप्रति गम्भीर प्रश्न उठेका छन्।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया