काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष बालेन्द्र (बालेन) शाहको निर्देशनमा बिहीबारका लागि बैठक तय गरिएको हो।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक जिम्मेवारीलाई प्राथमिकता दिँदै परिषद्को बैठक आह्वान गरिएको हो। उनले बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस रहेको जानकारी दिइन्।
‘प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन प्रधानमन्त्रीज्यूको निर्देशनपछि परिषद् सचिवालयले आवश्यक तयारी पूरा गरेको छ,’ दाहालले बताइन्।
संवैधानिक परिषद् सचिवालयले बुधबार नै सूचना जारी गर्दै बैठक बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने जनाएको छ। बैठकमा प्रधानन्यायाधीश पदका लागि सम्भावित उम्मेदवारहरूको योग्यता र उपयुक्ततामाथि छलफल गरी सिफारिस गरिनेछ।
बैठकमा सहभागी हुन परिषद्का सदस्यहरूलाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सहभागी हुनेछन्।
त्यस्तै, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख इन्दिरा राना मगरलाई पनि बैठकमा आमन्त्रण गरिएको छ।
लामो समयदेखि प्रधानन्यायाधीशको स्थायी नियुक्ति हुन नसक्दा न्याय प्रणालीमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सरकारले उक्त प्रक्रिया अघि बढाउन तीव्रता दिएको बताइएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया