काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अब अञ्जन श्रेष्ठले सम्हाल्ने भएका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले श्रेष्ठ अध्यक्षमा पदोन्नति भएका हुन्। महासंघ अध्यक्षको कार्यकाल तीन वर्षको रहनेछ।

महासंघको विधानको दफा २९ (३) मा वर्तमान वरिष्ठ उपाध्यक्ष एक कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था उल्लेख गरिएको छ। सोही प्रावधानअनुसार श्रेष्ठ अध्यक्ष बनेका हुन्। यसपटक महासंघको कार्यकारिणी समितिमा अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्यहरूको निर्वाचन मंगलबार सम्पन्न भएको थियो, जसको अन्तिम परिणामसमेत सार्वजनिक भइसकेको छ।

advertisement

वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने क्रमका रूपमा श्रेष्ठ चौथो व्यक्ति हुन्। यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल सोही व्यवस्थाअनुसार अध्यक्ष बनेका थिए।

बुधबारदेखि औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन्। उनले अटोमोबाइल, सेवा, पर्यटन तथा उत्पादनमूलक क्षेत्रलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

वि.सं. २०५९ मा महासंघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका श्रेष्ठले महासंघभित्र विभिन्न समितिमा काम गर्ने अनुभव बटुलेका छन्। महासंघको ५७औँ साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका उनी वि.सं. २०४५ देखि पारिवारिक व्यवसायमा सक्रिय रहँदै आएका छन्।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com