बेइजिङ। स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिकासँग तनाव बढिरहेका बेला इरानका विदेशमन्त्री अब्बास अरगाची र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा महत्वपूर्ण भेटवार्ता भएको छ ।
आगामी मे १४ र १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा हुने शिखर सम्मेलनको ठीक एक हप्ताअघि यो बैठक भएको हो ।
बैठकमा इरानी विदेशमन्त्री अरगाचीले चीनलाई इरानको नजिकको मित्र देश भनेका छन् ।
उनले वर्तमान परिस्थितिमा दुई देशबीचको सहयोग अझ बलियो बन्ने विश्वास व्यक्त गरे ।
इरान र अमेरिकाबीचको युद्ध अन्त्य गर्न हुने वार्तामा इरानले आफ्नो वैध अधिकार र हितको रक्षा गर्ने बताउँदै उनले भने, “हामी केवल निष्पक्ष र बृहत् सम्झौता मात्र स्वीकार गर्छौं ।”
गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो ।
यसअघि अरगाची र वाङ यीबीच कम्तीमा तीन पटक टेलिफोन वार्ता भइसकेको थियो ।
वार्तामा मुख्य रूपमा युद्धविरामको निरन्तरता र होर्मुज जलडमरू पुनः खोल्ने विषयमा छलफल भएको बताइएको छ ।
चीनले अमेरिकी नौसैनिक नाकाबन्दीको कडा आलोचना गरेको छ भने इरानले जलडमरू बन्द गरेकोमा पनि चीन असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।
इरानले चीनबाट कस्तो समर्थन पाउने र आगामी ट्रम्प–सी शिखर सम्मेलनमा इरानको हितमा के कुरा उठ्ने भन्नेबारे स्पष्टता खोजेको छ ।
यसको बदलामा चीनले सम्मेलनअघि इरानले कुनै उत्तेजक कदम नचाल्ने आश्वासन खोजेको छ ।
यो भेटवार्ताले मध्यपूर्वको तनाव र विश्व ऊर्जा आपूर्तिमा देखिएको संकटका बीच चीन र इरानबीचको रणनीतिक सम्बन्ध थप प्रगाढ बन्दै गएको देखाएको छ ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया