काठमाडौं । नेकपा संयुक्तले सरकारलाई आफ्ना कमजोरी सुधार्दै असफलताको बाटोमा नजान आग्रह गरेको छ। बुधबार काठमाडौँको माइतीघरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती सरकारजस्तै वर्तमान सरकार पनि असफल नहोस् भन्ने आम नागरिकको अपेक्षा रहेको भन्दै त्यसअनुसार सचेत भएर अघि बढ्न सरकारलाई आग्रह गरे।
सरकार बनेको डेढ महिना नबित्दै देखिएका केही गतिविधिले नागरिकमा असन्तुष्टि र चिन्ता बढाएको उनले बताए। सुकुमबासी व्यवस्थापनका नाममा राज्यले कमजोर वर्गप्रति देखाएको व्यवहारप्रति आपत्ति जनाउँदै उनले कुनै पनि लोकतान्त्रिक सरकारले आफ्ना नागरिकमाथि अमानवीय व्यवहार गर्न नसक्ने धारणा राखे।
भुसालले वास्तविक सुकुमबासीका लागि तत्काल उचित आवास र व्यवस्थापनको व्यवस्था गर्नुपर्ने माग पनि गरे। साथै, ट्रेड युनियन र विद्यार्थी संगठनमाथि लगाइएका प्रतिबन्धात्मक निर्णयहरू फिर्ता लिन सरकारसँग आग्रह गरे।
उनले दुई तिहाइ नजिकको सरकारबाट पटक–पटक अध्यादेश जारी गरिनु गलत अभ्यास भएको टिप्पणी गर्दै यसले सरकारको गरिमा कमजोर बनाएको दाबी गरे।
भुसालले कालापानी–लिपुलेक क्षेत्रको विषयमा राष्ट्रिय एकता र व्यापक सहमतिका आधारमा ठोस कूटनीतिक पहल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया