काठमाडौं । विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका हुन्। समितिमा शिक्षा सचिव र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्यसमेत रहने व्यवस्था गरिएको छ।
शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार उपकुलपति छनोटका लागि सार्वजनिक सूचना भोलिसम्म जारी गर्ने तयारी भइरहेको छ। ‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार प्रक्रिया अघि बढाइएको हो, उपकुलपति आह्वानको सूचना छिट्टै आउँछ,’ उनले भने।
सरकारले विश्वविद्यालयमा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको छ। त्यसका लागि विज्ञहरूको समूह पनि गठन गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। उक्त विज्ञ समूहले योग्य उम्मेदवारको सूची तयार गरी शिक्षामन्त्री नेतृत्वको समितिमा सिफारिस गर्नेछ।
सरकारले मेरिटका आधारमा प्रतिस्पर्धात्मक ढंगले उपकुलपति चयन गर्ने जनाएको छ। प्रक्रिया र छनोट विधिबारे छलफल जारी रहेको र सार्वजनिक सूचनासँगै विस्तृत मापदण्ड पनि सार्वजनिक गरिने बताइएको छ।
तत्कालका लागि विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने तयारीसमेत गरिएको छ। डिनमध्येबाट अस्थायी जिम्मेवारी दिने विकल्पमा छलफल भइरहेको स्रोतले जनाएको छ। नयाँ नियुक्ति प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले प्रशासनिक काम प्रभावित नहोस् भनेर यस्तो व्यवस्था गर्न लागिएको हो।
हाल सरकारले अध्यादेशमार्फत विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो।
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालयलगायत संस्थाहरूमा उपकुलपति तथा सम्बन्धित सेवा आयोगहरूमा पदाधिकारी नियुक्ति गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार उपकुलपति बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट पीएचडी गरेको, कम्तीमा १० वर्ष प्राज्ञिक वा अनुसन्धान अनुभव भएको, उच्च व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको, ४० वर्ष उमेर पूरा भएको तथा उच्च नैतिक चरित्र भएको हुनुपर्ने प्रावधान राखिएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया