काठमाडौं। सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी थालेको छ।

यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको छ।

advertisement

सचिवालयले बिहीबार जारी गरेको सूचनाअनुसार बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर पनि खिचिनेछ।

सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन आग्रह गरिएको छ।

सूचनाअनुसार विभिन्न संसदीय समितिका सदस्यहरूलाई छुट्टाछुट्टै समय तालिका बनाएर विवरण संकलनका लागि बोलाइएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई बिहीबार बिहान उपस्थित हुन भनिएको छ।

त्यस्तै उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई बिहीबार दिउँसो उपस्थित हुन आग्रह गरिएको छ।

शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूको विवरण संकलन गरिने सचिवालयले जनाएको छ।

यसैगरी वैशाख २८ गते सार्वजनिक लेखा समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन गरिनेछ।

सचिवालयका अनुसार विद्युतीय हाजिरी प्रणाली लागू भएपछि संसद् बैठकमा उपस्थितिको अभिलेख व्यवस्थापन थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com