काठमाडाैं । जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
२८ वर्षीया एक महिलालाई पटक-पटक धम्की दिँदै बलात्कार गरेको गम्भीर आरोप लागेपछि ४२ वर्षीय बुढालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
पीडित महिलाले आफूमाथि भएको अन्यायविरुद्ध वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा औपचारिक उजुरी दर्ता गराएकी थिइन्। उजुरीमा वडाध्यक्ष बुढाले डर र त्रास देखाई आफूलाई निरन्तर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छिन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन बाबु रेग्मीका अनुसार उजुरी परेलगतै आरोपितलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक प्रक्रिया सुरु गरेको छ।
जनप्रतिनिधि नै यस्तो जघन्य अपराधको आरोपमा पक्राउ परेपछि स्थानीय स्तरमा यस विषयले निकै चर्चा पाएको छ भने प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया