काठमाडौं। पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) का नेता तथा विपक्षी दलका नेता शुभेन्दु अधिकारीका स्वकीय सचिव (पीए) चन्द्रनाथ रथको बुधबार राति गोली हानी हत्या गरिएको छ।
कोलकाता नजिकैको मध्यमग्राम क्षेत्रमा भएको उक्त घटनापछि पश्चिम बंगालको राजनीति फेरि तनावपूर्ण बनेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गम्भीर घाइते अवस्थामा रथलाई अस्पताल पुर्याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो।
बीजेपीले घटनालाई ‘सुनियोजित राजनीतिक हत्या’ भएको दाबी गरेको छ भने तृणमूल कांग्रेस (टीएमसी) ले घटनाको निन्दा गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
घटनास्थलबाट प्रहरीले जीवित कारतुस बरामद गरेको छ भने आक्रमणमा प्रयोग गरिएको गाडी पनि नियन्त्रणमा लिइएको छ।
तर उक्त गाडीको नम्बर प्लेट नक्कली रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उल्लेखनीय रूपमा शुभेन्दु अधिकारीले हालै सम्पन्न विधानसभा निर्वाचनमा भवानीपुर क्षेत्रमा टीएमसी नेतृ तथा मुख्यमन्त्री ममता बनर्जीलाई करिब १५ हजार मतान्तरले पराजित गरेका थिए।
त्यसयता पश्चिम बंगालमा राजनीतिक तनाव बढ्दै गएको छ।
घटनापछि शुभेन्दु अधिकारीले प्रतिक्रिया दिँदै यो हत्या योजनाबद्ध रूपमा गरिएको आरोप लगाए।
उनले केही दिनअघि नै घटनाको ‘रेकी’ गरिएको दाबी गर्दै राज्यमा ‘जंगलराज’ बढेको टिप्पणी गरे।
यता टीएमसीले पनि विज्ञप्ति जारी गर्दै हत्या र निर्वाचनपछिका हिंसात्मक घटनाको निन्दा गरेको छ।
पार्टीले अदालतको निगरानीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट अनुसन्धान गराउन माग गरेको छ।
४१ वर्षीय चन्द्रनाथ रथ पूर्व मेदिनीपुर जिल्लाका निवासी थिए।
उनी लामो समयदेखि शुभेन्दु अधिकारीको निकट सहयोगीका रूपमा काम गर्दै आएका थिए।
भारतीय वायुसेनामा करिब दुई दशक सेवा गरेका रथले पछि राजनीति तथा प्रशासनिक समन्वयको भूमिकामा प्रवेश गरेका थिए।
बीजेपीभित्र उनी रणनीतिक र विश्वसनीय सहयोगीका रूपमा चिनिन्थे।
उनको हत्यापछि पश्चिम बंगालमा सुरक्षा र राजनीतिक हिंसाको विषय पुनः चर्चामा आएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया