काठमाडौं। गृह मन्त्रालयमार्फत उपलब्ध गराइएका सरकारी सवारीसाधन एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको छ ।
गृह मन्त्रालयअन्तर्गतको आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाका अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूलाई सरकारी सवारी उपलब्ध गराइएको हो ।
शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मन्त्रालयबाट उपलब्ध गराइएका दुई वटा सवारीसाधन प्रयोग गरिरहेका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मीले मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले उपलब्ध गराएका एक–एक वटा सरकारी सवारी प्रयोग गरिरहेका छन् ।
यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सवारी प्रयोग गरिरहेका पूर्वविशिष्ट व्यक्तिहरूको विवरण माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
गृह मन्त्रालयले मागिएको विवरण प्रधानमन्त्री कार्यालयलाई पठाइसकेको जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयबाट मागिएको विवरण पठाइसकिएको जानकारी दिएका छन् ।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्डविपरीत प्रयोग भइरहेको सरकारी सवारी बुधबार प्रधानमन्त्री कार्यालयलाई फिर्ता पठाएको जनाइएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया