काठमाडाैं । रामजी यादव ले सरकारले जेन–जी युवालाई प्रत्यक्ष रोजगारी दिन नसकेको बताएका छन्।
बिहीबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले जेन–जी आन्दोलनमा घाइते भएका युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा निरन्तर आउने गरेको भए पनि हाल आश्वासन दिएर पठाउनुपर्ने अवस्था रहेको बताए।
उनका अनुसार श्रम मन्त्रालयमा दैनिक एक हजारभन्दा बढी युवा रोजगारको माग गर्दै आउने गरेका छन्। मन्त्रालयको मुख्य जिम्मेवारी प्रत्यक्ष रोजगारी सिर्जना गर्नु नभई सीप विकास, प्लेसमेन्ट तथा रोजगारसँग जोड्ने काम रहेको उनले स्पष्ट पारे।
मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा घाइते युवालाई सीपमूलक तालिम दिने योजना समावेश गरिएको जानकारी दिए। तर, रोजगारीको ग्यारेन्टी गर्न नसकिने उनको भनाइ थियो।
उनले राष्ट्रिय रोजगार कार्यक्रमको बजेटमा भारी कटौती भएको गुनासो गर्दै पहिले १३ अर्ब रुपैयाँ रहेको बजेट घटेर १ अर्ब २० करोड रुपैयाँमा सीमित भएको बताए।
उनका अनुसार हालको बजेटबाट देशभर अधिकतम १७ हजार जनालाई मात्रै १०० दिनको रोजगारी उपलब्ध गराउन सकिने अवस्था छ। आगामी आर्थिक वर्षमा मन्त्रालयको कुल बजेटसमेत घट्ने गरी सिलिङ निर्धारण गरिएको उनले बताए।
मन्त्री यादवले मन्त्रालयले सीपमूलक तालिम सञ्चालन गरी निजी क्षेत्रसँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्ने प्रयास जारी राखेको बताए।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया