काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदली देखिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने बताइएको छ ।
त्यस्तै, तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङ्गसहित वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।
महाशाखाले खराब मौसमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया