काठमाडौं। प्रधानन्यायाधीश सिफारिसलाई लिएर देखिएको विवादबीच सर्वोच्च अदालतले शुक्रबारको दैनिक पेशी सूची करिब दुई घण्टा ढिलो सार्वजनिक गरेको छ ।

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै न्यायाधीशहरूबीच असन्तुष्टि बढेपछि नियमित समयभन्दा ढिलो गरी मुद्दा सुनुवाइ प्रक्रिया अघि बढाइएको हो ।

advertisement

आजको पेशी सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशका लागि सिफारिस भएका न्यायाधीश मनोजकुमार शर्माको नाम समावेश गरिएको छैन ।

दुवै न्यायाधीश शुक्रबार इजलासविहीन रहेका छन् ।

सामान्यतया बिहान साढे ९ बजेदेखि पौने १० बजाभित्र सार्वजनिक हुने पेशी सूची शुक्रबार करिब दुई घण्टा ढिलो सर्वोच्च अदालतको वेबसाइटमा राखिएको थियो ।

सर्वोच्च स्रोतका अनुसार गोला प्रक्रियामार्फत मुद्दा बाँडफाँट गर्नुपर्ने भए पनि न्यायाधीशहरूबीचको आन्तरिक छलफल र असन्तुष्टिका कारण प्रक्रिया समयमै अघि बढ्न सकेन ।

संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेकी सपना प्रधान मल्ललाई पछि पार्दै चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि न्यायालयभित्र विवाद उत्पन्न भएको हो ।

अदालतभित्रको विवाद र पेशी सूची ढिलो सार्वजनिक हुँदा सेवाग्राहीसमेत प्रभावित भएका छन् । मुद्दाको तारिख र सुनुवाइका लागि विभिन्न जिल्लाबाट आएका सेवाग्राही अन्योलमा परेका थिए ।

न्यायाधीशहरू इजलासमा फर्किए पनि अधिकांश मुद्दाको सुनुवाइ प्रभावित हुने देखिएको छ ।

यसैबीच, नेपाल बार एसोसिएसनले पनि घटनाक्रमलाई गम्भीर रूपमा लिँदै आकस्मिक बैठक बोलाएको बताइएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com