काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठा अभिवृद्धि हुने गरी नेपालको कूटनीति लाई प्रभावकारी ढङ्गले अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले कूटनीतिक नियोगहरूको सक्रिय सहभागिताबाट नेपालको कूटनीतिक सफलताको नयाँ अध्याय सुरु गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले नेपालको राष्ट्रिय महत्त्व अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्न अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागितामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।
शिक्षा र प्रविधिको माध्यमबाट नयाँ पुस्तालाई राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत, सम्पदा तथा संस्कृतिप्रति सचेत बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
सभामुख अर्यालले अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता तथा जनसहभागितासहित सञ्चालन गरिने कार्यक्रमहरूले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
उनले सबै पक्षको लगन, मेहनत र प्रतिबद्धताविना राष्ट्रिय नीतिका लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै नेपालको कूटनीतिलाई विश्वस्तरमा थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
सभामुख अर्यालले कूटनीतिक नियोगहरूको सकारात्मक सहभागिताबाट राष्ट्रको गौरव र प्रतिष्ठा अझ उचो बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा समेत राखे ।
साथै उनले राष्ट्रिय नीतिका लक्ष्यहरू पूरा गर्न नेपालले अझ बढी मेहनत र समन्वयका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया