काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीलाई तीव्र बनाएको छ। वैशाख २८ गतेका लागि संसद् बैठक बोलाइएको छ, जहाँ सरकारको नीति तथा कार्यक्रमसँगै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ।
हरेक वर्षझैँ यसपटक पनि जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। सोहीअनुसार संसद् सचिवालय र अर्थ मन्त्रालयले आवश्यक तयारीलाई अघि बढाएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटलाई रुपान्तरणकारी बनाउने लक्ष्यसहित छलफललाई तीव्र बनाएका छन्। उनले विभागीय मन्त्री, सचिव, सांसद तथा अन्य सरोकारवालासँग निरन्तर परामर्श गर्दै बजेट निर्माणलाई अन्तिम रूप दिन थालेका छन्।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरिसकेको छ। अर्थ मन्त्रालयले बजेट लेखनका लागि गठन गरेको समितिले विनियोजन विधेयकको मस्यौदा तयार गर्ने काम अघि बढाइरहेको छ।
सरकारले यसपटक सन्तुलित, न्यायोचित र परिणाममुखी बजेट ल्याउने तयारी गरेको जनाएको छ। साना आयोजनाभन्दा प्रभावकारी र प्राथमिकतायुक्त योजनामा लगानी केन्द्रित गर्ने नीति लिइएको छ।
दुर्गम तथा पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राख्ने, केन्द्र–प्रदेश–स्थानीय तहबीच बजेट बाँडफाँट स्पष्ट बनाउने तथा बजेट प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। साथै, नागरिक, निजी क्षेत्र र सरोकारवाला निकायबाट प्राप्त सुझावलाई समेत बजेट निर्माणमा समेटिने बताइएको छ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार












प्रतिक्रिया