काठमाडौँ । नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गर्दैछ।

पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त भेलामा केहीबेरमा सभापति गगनकुमार थापा धनगढी पुग्ने कार्यक्रम रहेको छ। भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे भने पहिले नै धनगढी पुगिसकेका छन्।

advertisement

विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट वर्तमान सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्ने तयारी गरेको हो।

सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार भेलामा प्रतिनिधि सभा निर्वाचन परिणामको समीक्षा गरिनेछ भने स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ। कार्यक्रममा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रदेश सभापति, जिल्ला सभापति, प्रदेश सरकारका प्रतिनिधि, सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतलाई सहभागी हुन पत्राचार गरिसकेका छन्। सहभागीका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

भेलाको व्यवस्थापन सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्नेछ भने स्थानीय समन्वय जिल्ला कार्यसमिति कैलालीले गर्ने जनाइएको छ।

भेलाको उद्घाटन सभापति गगनकुमार थापाले गर्नेछन्। कार्यक्रममा पहिलो चरणमा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको रिपोर्टिङ प्रस्तुत गरिनेछ भने दोस्रो चरणमा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

२७ गते स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य तथा अन्य सरोकारवालालाई लक्षित प्रशिक्षण कार्यक्रम राखिएको छ, जसमा उपसभापति विश्वप्रकाश शर्माले प्रशिक्षण दिनेछन्।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com