काठमाडाैं । झापा को गौरादह नगरपालिका –५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस र ढुङ्गागिट्टी बोकेको टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा का सूचना अधिकारी खगेन्द्रबहादुर खड्का का अनुसार दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे १ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र–न–२–०३–००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशी सहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली तथा किस्मत खड्का घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये योगमाया निरौलाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको छ । अन्य घाइतेहरूको उपचार नगर अस्पताल गौरादह मा भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ । प्रहरी चौकी महारानीझोडा ले टिपर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार












प्रतिक्रिया