काठमाडाैं । काठमाडौँको गोठाटार स्थित नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीका अनुसार शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको हो ।
आज बिहान पूजा गर्न पुगेका पुजारीले भेटीको बाकस गायब भएको देखेपछि खोजी गरिएको तर फेला नपरेको उनले बताए । महाशिवरात्रिपछि बाकस नखोलिएकाले त्यसमा करिब ८ देखि १० लाख रुपैयाँसम्म रहेको अनुमान गरिएको छ ।
महादेव मन्दिरमा चोरी र मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट जेनजी आन्दोलनपछि गत भदौमा हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको जनाएको छ ।
उक्त मन्दिर पहिले गौचरण क्षेत्रमा रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा मन्दिरलाई गोठाटारमा स्थानान्तरण गरिएको हो ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया