काठमाडौं। जेन्जी २.० ले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या दीर्घकालदेखि समाधान हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
संगठनले प्रेस विज्ञप्ति जारी गर्दै सुशासन, विकास निर्माण, भ्रष्टाचार नियन्त्रण तथा जनहितका क्षेत्रमा सरकारले अघि बढाइरहेका काम सकारात्मक र प्रशंसनीय रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा राज्य संयन्त्रलाई उत्तरदायी र प्रभावकारी बनाउने प्रयासले नागरिकमा आशा र विश्वास बढाएको उल्लेख गर्दै, अझै पनि हजारौं भूमिहीन तथा अव्यवस्थित बसोबासी अस्थायी र असुरक्षित जीवन बिताउन बाध्य रहेको जनाएको छ।
उनीहरूको उचित पहिचान, तथ्यांक संकलन, कानुनी प्रक्रिया तथा व्यवस्थित बसोबासको कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरिएको छ।
जेन्जी २.० ले नागरिकको आधारभूत आवास अधिकार सुनिश्चित गर्न प्रभावकारी र दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै, समस्या समाधानमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेको छ।
त्यस्तै, हाल स्वतः खारेज भएका राजनीतिक नियुक्तिका पदहरूमा आगामी दिनमा गरिने नयाँ नियुक्तिहरू पूर्ण रूपमा प्रतिस्पर्धात्मक, पारदर्शी र स्वतन्त्र ढंगबाट हुनुपर्ने धारणा पनि संगठनले राखेको छ।
योग्य, सक्षम र निष्पक्ष व्यक्तिहरूको चयनबाट मात्रै सुशासन र जनविश्वास मजबुत बन्ने विज्ञप्तिमा उल्लेख छ।
संगठनले देश अध्यादेशमार्फत चलोस् वा संसदमार्फत, राज्य सञ्चालनको मूल उद्देश्य देश र जनताको हित हुनुपर्ने स्पष्ट गरेको छ।
राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, जनअधिकार र सुशासनलाई केन्द्रमा राखेर काम गर्न सम्पूर्ण पक्षलाई आग्रह गरिएको छ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया