काठमाडौं। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एमभी होन्डियस नामक क्रुज जहाजमा हन्टाभाइरसको गम्भीर प्रकोप फैलिँदा हालसम्म तीन जना यात्रुले ज्यान गुमाएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार मृत्यु हुनेमा नेदरल्याण्ड्सका एक दम्पती र जर्मनीका एक नागरिक रहेका छन्।
डच नागरिकको मृत्यु जहाजमै अप्रिल ११ मा भएको थियो भने उनकी पत्नीको जोहानेसबर्गमा उपचारका क्रममा ज्यान गएको हो।
त्यस्तै, मे २ मा केप भर्डे नजिकैको तटीय क्षेत्रमा अर्का जर्मन यात्रुको पनि संक्रमणका कारण मृत्यु भएको पुष्टि गरिएको छ।
विश्व स्वास्थ्य संगठनकी महामारी विशेषज्ञ मारिया भान केरखोभका अनुसार जहाजमा देखिएको भाइरस हन्टाभाइरसको ‘एन्डिज भेरियन्ट’ भएको प्रारम्भिक निष्कर्ष छ।
यो भेरियन्ट सीमित रूपमा मानिसबाट मानिसमा पनि सर्न सक्ने भएकाले बन्द जहाजभित्र संक्रमण तीव्र रूपमा फैलिएको हुनसक्ने बताइएको छ।
हाल जहाजमा रहेका यात्रु तथा चालक दलका सदस्यहरूलाई कडा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै क्रमशः उनीहरूको देश फर्काउने प्रक्रिया सुरु गरिएको छ।
विभिन्न देशहरूले आफ्ना नागरिकलाई चार्टर विमानमार्फत उद्धार गर्न थालेका छन्।
संयुक्त राज्य अमेरिकाका १७ नागरिकलाई थप स्वास्थ्य निगरानीका लागि नेब्रास्का मेडिकल सेन्टरमा पठाउने तयारी गरिएको छ।
बेलायत तथा अन्य युरोपेली देशहरूले पनि आफ्ना नागरिकहरूको उद्धार प्रक्रिया अघि बढाइरहेका छन्।
जहाज सञ्चालन गर्ने कम्पनी ओशनवाइड एक्सपिडिसनले जहाजभित्र मुसा वा अन्य संक्रमण स्रोत नभएको दाबी गरेको छ।
तर प्रारम्भिक अनुसन्धानमा एक संक्रमित यात्रुले अर्जेन्टिनामा जहाज रोकिने क्रममा भाइरसको सम्पर्कमा आएको हुनसक्ने आशंका गरिएको छ।
विश्व स्वास्थ्य संगठनले यस घटनालाई गम्भीर रूपमा निगरानी गरिरहेको छ तर सामान्य जनताका लागि जोखिम न्यून रहेको जनाएको छ।
उद्धार गरी फर्काइएका यात्रुहरूलाई केही हप्तासम्म क्वारेन्टिनमा राख्न सल्लाह दिइएको छ।
यसैबीच दक्षिण अफ्रिकामा उपचाररत एक बेलायती नागरिकको अवस्था अझै गम्भीर रहेको र चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार












प्रतिक्रिया