काठमाडौं। रवि लामिछाने ले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने बताएका छन्।
उनले पार्टीभित्र “रविको मान्छे” वा “बालेनको मान्छे” भन्ने चर्चा र हल्ला नगर्न सांसदहरूलाई स्पष्ट निर्देशन दिएका छन्।
ललितपुरमा आयोजित पार्टीका सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले आगामी पाँच वर्षभित्र जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न नसके आफूहरू अयोग्य साबित हुने बताए।
लामिछानेले पार्टीका नेता तथा सांसदहरूलाई व्यक्तिगत स्वार्थ र समूहगत राजनीतिबाट टाढा रहन आग्रह गर्दै अहिलेको समय परिणाममुखी काम गर्ने समय भएको उल्लेख गरे।
उनले विगतका राजनीतिक शक्तिहरूबीचको असमझदारीका कारण देश लामो समय पछाडि धकेलिएको टिप्पणी पनि गरे।
प्रधानमन्त्री बालेन्द्र शाह सँग आफ्नो सम्बन्धलाई लिएर भइरहेका चर्चाप्रति संकेत गर्दै उनले आफूहरूबीच कुनै व्यक्तिगत स्वार्थ नभई देशको भविष्यका लागि सहकार्य भएको स्पष्ट पारे।
सञ्चारमाध्यम र केही वृत्तले आफूहरूबीच विभाजन खोजिरहेको आरोप लगाउँदै उनले आफूहरू राजनीतिक रूपमा परिपक्व रहेको दाबी गरे।
उनले पार्टीभित्र योगदानको बदलामा पद वा अवसरको अपेक्षा गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।
केही सांसदहरूले व्यक्तिगत अपेक्षासहित भेट्न आउने गरेको उल्लेख गर्दै उनले अहिले व्यक्तिगत लाभ खोज्ने होइन, जनताको भरोसा कायम राख्ने समय भएको बताए।
लामिछानेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तुलनात्मक रूपमा सहज राजनीतिक उचाइ हासिल गरेको भए पनि त्यसको आधार विगतका पुस्ताले गरेको संघर्षले तयार पारेको हो।
उनले अबको पाँच वर्षलाई काम र परिणाम देखाउने निर्णायक अवधि भएको बताए।
उनले सांसदहरूलाई आफ्नो बोली र व्यवहारप्रति सजग रहन पनि आग्रह गरे। “हाम्रा अभिव्यक्ति र गतिविधिले जनतामा चोट पुग्न सक्छ भन्ने चेतना सबैमा हुनुपर्छ,” उनले भने।
फरक प्रसङ्गमा उनले सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिबद्धता जनाए।
साथै उनले व्यक्तिगत मुद्दाभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकतामा राख्न पार्टीका सांसदहरूलाई आग्रह गरे।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया