विकासका नाममा गरिबमाथि अन्याय नगर्न डा. जगतको आग्रह

“मानवता, संवेदना र न्यायभन्दा ठूलो कुनै राजनीति हुँदैन”



काठमाडौं । जेनजी अभियन्ता डा. जगत विक ले विकासका नाममा गरिब तथा विपन्न नागरिकलाई विस्थापित गर्ने प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

उनले दीर्घकालीन योजना, सुरक्षित स्थानान्तरण र विस्थापितहरूको उचित व्यवस्थापनबिना गरिएको बस्ती हटाउने कार्य मानव संवेदनामाथिको प्रहार भएको बताएका छन्।

advertisement

डा. विकले आफ्नो धारणा राख्दै “लोकप्रियता कमाउन गरिबको आँसु माथि राजनीति गर्ने प्रयास भइरहेको जस्तो देखिएको” टिप्पणी गरेका छन्। उनले गाँस, बास र कपासबाट वञ्चित बनाएर विकासको नाममा पीडा थप्ने नीति कहिल्यै न्यायपूर्ण हुन नसक्ने स्पष्ट पारे।

“आज जसको घर उजाडिएको छ, सायद उसले जीवनभरको कमाइ, सपना र सम्झना त्यही सानो टहरामा सँगालेको थियो,” उनले भने ।

घर भत्किँदा केवल इँटा, टिन वा संरचना मात्र नष्ट नभई मानिसका वर्षौंको संघर्ष, सपना, आशा र जीवनको आधारसमेत चकनाचुर हुने उनले बताए।

डा. विकले विस्थापित परिवारहरूको पीडा आफूले नजिकबाट महसुस गरेको उल्लेख गर्दै, “पीडा त्यतिबेला मात्र महसुस हुन्छ, जब आफ्नै आँगन उजाडिन्छ र आफ्नै परिवार खुला आकाशमुनि रोइरहेको हुन्छ,” उनले भने ।

उनले विकास आवश्यक भए पनि त्यसका नाममा गरिब नागरिकमाथि अन्याय गर्न नहुने बताए । राज्यले विकाससँगै मानवता, संवेदना र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड छ।

“साँचो सरकार त्यही हो, जसले कमजोर नागरिकको हात समात्छ — धकेल्दैन,” भन्दै उनले सरकारलाई मानवीय दृष्टिकोणसहित नीति कार्यान्वयन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com