काठमाडौं। पुष्पकमल दाहाल ले नेपालको राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा जटिल र संवेदनशील अवस्थामा पुगेको बताएका छन्।

उनले नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न देशी तथा विदेशी शक्तिहरू योजनाबद्ध रूपमा सक्रिय रहेको आरोप पनि लगाए।

advertisement

२६औँ निर्मल लामा स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनमाथि भइरहेको चुनौतीलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औँल्याए।

उनले कम्युनिस्ट शक्तिहरूले आत्मसमीक्षा गर्दै कमजोरी सुधार गर्नुपर्ने र विभाजित आन्दोलनलाई एकताबद्ध बनाउँदै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए।

प्रचण्डका अनुसार नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त पार्ने उद्देश्यसहित विभिन्न प्रतिक्रियावादी शक्तिहरू सक्रिय छन्।

यस्तो अवस्थालाई समयमै नबुझ्ने हो भने श्रमजीवी र आम जनताको हितमाथि ठूलो क्षति पुग्ने उनले चेतावनी दिए।

उनले जनतामा कम्युनिस्ट एकताको चाहना बढिरहेको उल्लेख गर्दै विभिन्न कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताए।

साथै उनले मोहनविक्रम सिंह लाई कम्युनिस्ट एकताका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे।

प्रचण्डले हालको राष्ट्रिय परिस्थिति चिन्ताजनक रहेको दाबी गर्दै विशेषगरी जेनजी आन्दोलन र भदौ २३–२४ पछिका घटनाक्रमले राष्ट्रिय स्वाधीनतामाथि दबाब सिर्जना गरेको टिप्पणी गरे।

यद्यपि, उनले यही चुनौतीभित्र कम्युनिस्ट तथा देशभक्त शक्तिहरू एकजुट हुने सम्भावना पनि रहेको बताए।

उनले वर्तमान सरकारमाथि गरिब, श्रमिक र निमुखा वर्गलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाए।

सरकारको नीतिका कारण श्रमजीवी वर्ग प्रताडित भइरहेको भन्दै उनले कम्युनिस्ट शक्तिहरूले वर्गीय पक्षधरता स्पष्ट रूपमा देखाउनुपर्ने बताए।

प्रचण्डले नेपाली जनताले अझै पनि कम्युनिस्ट शक्तिमाथि भरोसा गरिरहेको उल्लेख गर्दै नेतृत्वले जनअपेक्षाअनुसार जिम्मेवार कदम चाल्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com